News Griha :: न्यूजगृह
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध गर्ने अडानमा कांग्रेस

काठमाडौं— संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउनेछन्।

मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने, अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेस गर्ने र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार , २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने भन्दै दुवै सदनमा अवरोध गर्दै आएकोले मंगलबार बस्ने बैठक पनि चल्न नदिने अडानमा सो पार्टी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:००
Weather Update