
काठमाडौं— चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गर्ने गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले गरेको छानबिनका क्रममा यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घले छिन्।
पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई ठमेलबाट पक्राउ गरिएको ब्युरोका एसपी गौतम मिश्रले बताए। प्रहरीका अनुसार, घलेले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै प्रलोभन देखाएकी थिइन्।
एसपी मिश्रले भने, ‘चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडितलाई जिल्ला अदालत, काठमाडौंमा लगेर ललाईफकाई २०७९ चैत १२ मा अदालती विवाह गराएको खुलेको छ।’
विवाहपछि २०८० वैशाख १ मा उनलाई चीन लगेर घले भने नेपाल फर्किएको खुलेको छ। चीनमा भने पीडितलाई यौन शोषण गरेको खुलेको मिश्र बताउँछन्।
‘विभिन्न व्यक्तिहरुसँग जबर्जस्ती वेश्यावृत्तिमा लगाएको समेत खुलेको छ, घलेले उनलाई ५ लाख रुपैयाँ लिएर बेचबिखन गरेको समेत अनुसन्धानबाट देखिएको छ,’ उनले भने, ‘पछि पीडितले आफन्तलाई सम्पर्क गरेपछि चीनस्थित नेपलाी दूतावाससँगको समन्वयमा २०८० असार १ मा उनको उद्दार भएको थियो।’
प्रहरीका अनुसार, नेपाली युवतीलाई नक्कली विवाह गरेर चीनमा लगेर बेचबिखन गर्ने प्रवृत्ति नयाँ होइन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७१ सालमा गरेको अनुसन्धानमा पनि यस्तो गतिविधि भएको देखिएपछि जाँच गर्दा ‘म्यारिज ब्युरो’ नै चलाएको फेला परेको थियो। त्यसबेला यसका सञ्चालकहरुलाई समेत ब्युरोले पक्राउ गरेको थियो।
२०७६ सालमा मानवबेचबिखन अनुसन्धान ब्युरोले पनि चार चिनियाँसहित १० जनाको गिरोहलाई नेपाली युवती बेचबिखन गरेको आरोपमा पक्राउ गरेको थियो। त्यसबेला विवाह गरेर चीन पुगेका ४ युवतीको उद्धार भएको थियो।
चीनबाट २०८० कात्तिकमा पनि अर्की एक नेपाली युवतीको उद्धार भएको थियो। अधिकांश घटनामा प्रहरीले चिनियाँ 'नेक्सस'को पटाक्षेप गर्न सकेको छैन।













