News Griha :: न्यूजगृह
रवि लामिछाने भन्छन्– छानबिन समितिमा आपत्ति छैन, रास्वपा बिनानै टीओआर बनाए हुन्छ 
फाइल तस्बिर

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्मा गरेको सम्बोधनबारे टिकाटिप्पणी हुन थालेपछि त्यसको खण्डन गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै लामिछानेले आफूले कसैलाई पनि आरोप नलगाएको भन्दै आफ्नो बचाउ गरेका छन्। उनीमाथि सहकारी ठगीको आरोप रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ।  

आइतबारको संसद् बैठकमा लामिछानेले कांग्रेसका नेताहरु मुछिएको विभिन्न काण्डको विषयमा छानबिन समिति बनाउनुपर्ने माग अघि सारेका थिए। 

आफूमाथिको आरोप विषयान्तर गर्न गृहमन्त्री लामिछानेले अरुमाथि आरोप लगाएको टिप्पणी कांग्रेसले गरिरहेका बेला उनले भनेका छन्, ‘मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ व्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।’  

त्यस्तै आफूहरुलाई संसदीय छानबिन समिति बन्ने विषयमा कुनै आपत्ति नरहेको बताउँदै छानबिन समितिको कार्यादेश (टीओआर) आफ्नो दल रास्वपाको कुनै सदस्य नराखी बनाए पनि स्वीकार गर्न तयार रहेको बताए। 

‘हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन। प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ। हामीले हिजो सदनबाटै भनिसकेका छौँ, छानबिन समितिको कार्यादेश (टीओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ,’ लामिछानेले भनेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:०८
Weather Update