-1716205509.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको छ।
मंगलबार बिहान ११ बजेका लागि संयुक्त बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए।
पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा गहन छलफलका लागि बैठक बोलाइएको उनले बताए।
बैठकमा आज प्रधानमन्त्रीले संसद्बाट लिएको विश्वासको मत र आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्दै कांग्रेस नेताहरुमाथि लगाएको आरोपका विषयमा छलफल हुनेछ।
सहकारी ठगी प्रकरणको विषय पेचिलो बन्दै गइरहेको छ। गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ। शनिबार संसदीय छानबिन समिति बनाउने विषयमा सहमति भए पनि त्यसको क्षेत्राधिकारको विषय नटुंगिदा गठित कार्यदलको बैठक समेत प्रभावित भएको छ।
आज प्रधानमन्त्रीले कांग्रेसको विरोधकाबीच पनि विश्वासको मत लिएपछि थप रणनीति बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो।
बैठक कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।