सुर्खेतमा बस दुर्घटनाः २ जनाको मृत्यु, २१ जना घाइते

काठमाडौं— सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा भन्ने स्थानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने बसमा सवार २१ जना घाइते भएका छन्।
सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले न्यूजगृहलाई जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखका भीमसेन राना रहेका छन्।
घाइतेहरूको कर्णाली केयर अस्पताल र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए।
घुम्ती भएको बाटोमा तीव्र गतिका कारण बस दुर्घटना भएको उनले बताए।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १७:१३













