News Griha :: न्यूजगृह
रातो पासपोर्ट काण्डः गृहमन्त्रीलाई कारबाही गर्न धनराजले लेखे सभामुखलाई पत्र 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन्। 

पूर्व कानुनमन्त्री समेत रहेका सांसद गुरुङले लामिछानेको आइतबार संसद्को अभिव्यक्तिले आफ्नो मानमर्दन भएको भन्दै कारबाही गर्न माग गरेका हुन्। 

सोमबार ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलानमा कारबाही गरिपाउँ’ भन्दै सभामुखलाई पत्र लेखेका हुन्।

निरन्तर कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएको र संसदीय छानबिन समितिमार्फत् कारबाही हुनुपर्ने माग राख्दै आइरहेकोमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्लाई सम्बोधन गरे। सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसका नेताहरु जोडिएको सानादेखि ठूलासम्मका काण्डहरुबारे पनि छानबिन हुनुपर्ने माग राखेका थिए। सो क्रममा उनले कुटनीतिक राहदानी (रातो पासपोर्ट) बिक्री गर्नेहरुमाथि पनि कारबाही हुनुपर्ने माग राखेका थिए। उनै कांग्रेस सांसद गुरुङलाई रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लाग्दै आइरहेको छ। यद्यपि २०६४ साल असोज २४ गते सर्वोच्च अदालतले गुरुङलाई सफाइ दिएको छ। 

अदालतले सफाइ दिइसकेको विषयमा समेत गृहमन्त्री लामिछानेले संसद्मा उठाएर आफ्नो मानमर्दन गरेको भन्दै उक्त आरोप पुष्टि गर्न नभए कारबाही गर्न माग गरेका हुन्। 

‘उहाँले बोलेको कुराहरुको अडिओ तथा भिडिओ प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला। देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहिन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ। उहाँले बोलेको कुरा पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु। यदी पुष्टि नभएमा उहाँमाथि कारबाहीको माग गर्दछु,’ उनले अघि भनेका छन्, ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु।’ 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:३२
Weather Update