News Griha :: न्यूजगृह
संसद्भित्र बधाई नपाएको विश्वासको मत

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन्। 

योसँगै अहिलेको कार्यकालमा प्रधानमन्त्री प्रचण्डले चारपटक विश्वासको मत लिएका हुन्। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिद्ध गर्न परेकाले प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए। 

एमालेसहितको सत्ता गठबन्धनमा रहेका दलहरुको मत प्रधानमन्त्रीले पाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ‘वेल’ घेरेर नारा लगाइरहेको थियो। कांग्रेसको बैठक अवरुद्ध गर्ने रणनीतिलाई साथ दिइरहेका अरु प्रतिपक्षी दल उठेर समर्थन जनाइरहेका थिए।

उच्च स्वरमा नाराबाजी भैरहेको सदनमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न समय दिएका थिए। उत्तेजित मुद्रामा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षको तीखो आलोचना गर्दै विश्वासको मत मागे। उनले आजको विरोधका लागि ‘भविष्यमा चर्को मूल्य चुकाउनुपर्नेछ’ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी समेत दिए। 

नेपालको संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएको यो पहिलो अवसर हुन पुगेको छ। प्रतिपक्षले मतदानमा सहभागी नभएर विरोध गरेको पनि यो पहिलो घटना बनेको छ।

अर्को उल्लेख्य पक्ष के हो भने विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले मतदाता सांसद र समर्थक दललाई धन्यवाद ज्ञापन गर्ने परम्परा रहिआएको छ। त्यसैगरी दलीय प्रतिनिधित्वका आधारमा रोस्टममा उभिएर नेताहरुले प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने चलन छ। तर आज यी कुनै पनि औपचारिकता पूरा हुन पाएनन्, आफूलाई विश्वासको मत दिने दलहरुको समेत बधाई नपाई प्रधानमन्त्री सदनबाट बाहिरिनुपर्यो। 

उनलाई सत्ता साझेदार नेकपा एमालेका अध्यक्षले पनि भेटेरै बधाई दिइसकेका छन्। 

मतपरिणाम घोषणा गरेपछि कार्यसूचिका सबै विषय हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको सूचना सुनाएपछि भर्खरै विश्वासको मत पाएका प्रधानमन्त्री दाहाल व्यक्तिगत शुभकामना लिँदै बाहिरिएका थिए। 

यता संसद्को आजको गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएर समीक्षा गरेको छ। कांग्रेसले प्रतिपक्षीको विरोधकाबीच सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वातावरण तय गर्नुले संसदीय मर्यादा बिर्सिएको आरोप लगाएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री जोडिएको भन्दै कांग्रेसले निरन्तर संसदीय समितिको माग गर्दै आइरहेको छ। शनिबार छानबिन समिति बनाउने विषयमा दलहरुबीच सहमति भए पनि क्षेत्राधिकारको विषय नटुंगिँदा समिति बन्न नसकेको हो। जसको परिणामस्वरुप संसद् निरन्तर होहल्लाको थलो बनिरहेको छ। जनताको जनप्रतिनिधिमुलक थलो संसद् निरन्तर बन्धक बन्दा आगामी दिनमा नेपालको राजनीतिक कता जाला भन्ने संशयहरु उठ्न थालेका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:४७
Weather Update