News Griha :: न्यूजगृह
कांग्रेस बैठकको समीक्षाः सभामुखको भूमिका गैरजिम्मेवार, गृहमन्त्रीलाई पदीय मर्यादा थाहा भएन 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद् बैठकको समीक्षा गरेको छ। 

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्। कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसदीय दलको बैठक बोलाएको कांग्रेसले सो विषयमा समीक्षा गरेको हो। 

बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले बलमिच्याइँ गरेको बताए। उनले वर्तमान सरकार सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित अन्य व्यक्तिहरुलाई जोगाउन लागेको आरोप लगाए।

त्यस्तै आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूहरुले सहमतिको प्रयासस्वरुप गृहमन्त्रीलाई बोल्न दिइए पनि आफू बाहेक अरु सबै दोषी जसरी संसद्मा प्रस्तुत भएको बताए। संसद्को बैठकमा गृहमन्त्रीको रुपमा भन्दा पनि टेलिभिजन प्रस्तोताको रुपमा प्रस्तुत भएको बताए। 

‘टेलिभिजन प्रस्तोताको रुपमा प्रस्तुत हुनुभएको रवि लामिछाने र गृहमन्त्रीको रुपमा प्रस्तुत हुनुभएको माननीय रवि लामिछानेजी रुपमा फरक देखिए पनि सारमा कुनै अन्तर देखिएन,’ उनले भने। 

सञ्चारकर्मीको रुपमा प्रस्तुत भइ प्रश्न गरेको व्यक्तिले गृहमन्त्री भएर पनि प्रश्न गर्ने नभइ काम गरेर देखाउनुपर्ने बताए। 

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेको भूमिका निष्पक्ष नभएको उनको तर्क रहेको छ। विपक्षीहरुले विरोध गरिरहँदा पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पठाएर संसदीय मर्यादाको उल्लंघन गरेको बताए। 

साथै आफूहरुले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद्का कामकारबाही अघि बढ्न नदिने समेत बताए। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:१४
Weather Update