News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा कांग्रेसको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। 

सोमबार बसेको राष्ट्रिय सभा बैठकको कारबाही प्रारम्भ सुरु भएसँगै कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए। 

यसअघिका बैठकहरुमा पनि कांग्रेसले निरन्तर अवरोध गर्दै आइरहेको थियो। कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आइरहेको छ। शनिबार दलहरुबीच छानबिन समिति बनाउन सहमति भए पनि त्यसको क्षेत्राधिकार तय नहुँदा कांग्रेसले अवरोध गरेको हो।

त्यस्तै आज बसेको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो। तर कांग्रेस लगायत प्रतिपक्षीको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका हुन्। 

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले बैठकमा सहजीकरण गर्नका लागि आग्रह गरेका थिए। तर सांसदहरुले आफ्नो अवरोध कायम राखेका कारण मंगलबार दिउँसो १ः१५ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:२७
Weather Update