News Griha :: न्यूजगृह
चट्याङ लागेर ७२ भेडा मरे 
सांकेतिक तस्बिर

संखुवासभा— जिल्लाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जानकारी दिए।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिइन्।

रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंको भनाइ रहेको छ। 

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र  चीनसँग जोडिएको छ।

घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन्। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:०७
Weather Update