
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षीहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएर अनौठो नजिर स्थापित भएको जनाएको छ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
संसद्मा विपक्षीहरुले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिएको इतिहास अहिलेसम्म नभएको बताउँदै अनौठो नजिर स्थापित भएको बताए।
‘संसद्मा विपक्षीहरुले विरोध गरिरहेका बेला विश्वासको मत लिएको अवस्था अहिलेसम्म छैन। संसदीय इतिहासमै उहाँहरुले अनौठो नजिर स्थपित गर्नुभएको छ,’ उनले भने।
त्यस्तै लामो संघर्षपछि बनेको संविधानको खिलापमा वर्तमान गठबन्धन सरकार लागेको आरोप डा. महतले लगाए।
‘लामो संघर्षपछि हामीहरुले ल्याएको संविधानको खिलापमा गठबन्धनका दलहरु लागेका छन्। र यसलाई कमजोर गर्ने काममा उहाँहरु सहयोगी भइरहनुभएको छ,’ उनले भने।
सहकारी प्रकरणमा गृहमन्त्री मात्रै नभएर अन्य सत्तारुढ दलका नेताहरुको नाम खुल्दै जाने भएपछि संसदीय छानबिन समिति बनाउन सत्तापक्ष डराएको बताए।