News Griha :: न्यूजगृह
आकर्षक रोजगारीको प्रलोभनमा ओमन पुर्‍याएर बेचबिखन गर्ने एक जना पक्राउ 

काठमाडौं– आकर्षक रोजगारीको प्रलोभनमा ओमन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका–४ का ५१ वर्षीय समसुद्दिन खाँ पठान रहेका छन्। 

पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको हो। 

पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमनमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमन पठाईदिने भनि काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमन पुर्‍याएको र ओमन पुगेपछि ओमनी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ। 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:०६
Weather Update