-1716184453.jpg)
काठमाडौं— सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन्।
आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्मा हुने मतभेदहरुलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका हुन्।
गत जेठ १ गते नीति तथा कार्यक्रमका बेलामा सत्ता र प्रतिपक्ष एकै ठाउँमा उभिएको स्मरण गराउँदै मुलुकको कार्यकारी प्रमुखले संसद्मा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताए।
‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ। जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौँ। प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो। एक सातापछि नै बजेट ल्याउँदैछौँ,’ उनले भने, ‘मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनुहुँदैन। संसदको नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नैपर्दछ। यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराउँदछु।’
त्यस्तै आजको प्रतिपक्ष भोलिको सत्तापक्ष हुनसक्ने भन्दै प्रधानमन्त्रीको विश्वासको मत प्रभावित भएमा कालन्तरसम्म त्यसले असर गर्ने बताए।
त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले माग गरे बमोजिम संसदीय छानबिन समिति बनाउने प्रयास भइरहेको बताए।
प्रमुख प्रतिपक्षले निरन्तर संसद्मा अवरोध गरिरहे पनि आइतबारको बैठकमा गृहमन्त्रीलाई बोल्न सहजीकरण गरेको विषय नै राजनीतिक सहमतिको एउटा अंश रहेको बताए।
सभामुख घिमिरेले भने, ‘संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ। यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो। यो पनि सहमतिको एउटा अंश हो। अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ। आज सहकार्य गरौं। संसदमा मतभेदहरु हुन्छन्, विषयमा बहसहरू हुन्छन्। तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ।’
आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। तर संसदीय छानबिन समितिमा अडिग रहेको कांग्रेसले छलफल जारी राखेका कारण अझैसम्म बैठक बस्न सकेको छैन।
संसदीय दलको बैठक बोलाएर छलफल गरेको कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएर छलफल गरिरहेको छ।
त्यसो त शनिबार सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएको र त्यसको क्षेत्राधिकार तय गर्न कार्यदल बनाइएको थियो। तर आइतबार कार्यदलको बैठक लामो समय बसेपनि क्षेत्राधिकार नटुंंगिएपछि पुनः बस्ने भनिएको बैठक अझैसम्म बस्न सकेको छैन।