News Griha :: न्यूजगृह
उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा)का ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

अध्यक्ष यादवका तर्फबाट आइतबार सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिटमा सुनुवाइ गर्न सोमबारका लागि पेसी तोकिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सर्वोच्चमा रिट दिएका हुन्।

यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वास मत लिन लागेका हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईसहित ७ जना सांसदले वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए।

निर्वाचन आयोगले उक्त दललाई वैशाख २४ गते मान्यता दिएको थियो। आयोगको निर्णयविरूद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि जेठ ८ गतेका लागि बोलाएको थियो।

सर्वोच्चले दल विभाजन सम्बन्धी कतिपय काम कारबाही भइरहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको थियो।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:२५
Weather Update