News Griha :: न्यूजगृह
तनहुँको दमौली बजारमा भीषण आगलागी, १२ घरका २० सटर जलेर नष्ट
तस्बिरः रासस

काठमाडौं— तनहुँको दमौली बजारमा भीषण आगलागी हुँदा २० सटर जलेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरूमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी दिपककुमार रायका अनुसार सोमबार बिहान सवा १ बजे सुरु भएको आगलागी ३ बजे मात्रै निभाइएको थियो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए। 

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकल परिचालन गरिएको थियो।आगलागीबाट तरकारी लाइनमा रहेका १२ घरमा रहेका २० वटा पसल नष्ट भएका छन्। तीमध्ये अधिकांश मोबाइल पसल, पुस्तक पसल र तरकारी पसल रहेको रायले जानकारी दिए।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी रायले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०८:५४
Weather Update