
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्।
उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले संसद्मा टेलिभिजन प्रस्तोताको जस्तो गरी आक्रोश पोखेको र तिमीहरू सबैले हिजोदेखि चोर्यौँ, अहिले मैले पनि चोर्न पाउनुपर्छ भन्ने ढंगले प्रस्तुत भएको बताए।
'यो संसदीय छानबिन समिति सहकारीको रकम अपचलन भएको कारणमात्रै आवश्यक भएको होइन, त्यो ठगी प्रकरणमा देशको उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत आरोपित रहेको प्रमाणहरू सार्वजनिक भएका कारणले हो । त्यसकारणले यहाँ व्यक्ति तोकेर, सहकारीको नाम नै तोकेर संसदीय छानविन समिति बनाउनुपर्ने परिस्थिति बनेको हो,' महामन्त्री थापाले भने।
भ्रष्टाचारको फाइल खोल्ने, छानबिन गर्ने, अनुसन्धान गर्ने निकायको नेतृत्वमा रहेर गृहमन्त्री लामिछानेले संसद्बाट कसैलाई पनि धम्क्याउन आवश्यक नभएको थापाको भनाइ छ।
पत्रकार सम्मेलनमा महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएका कागजात र सो विषयमा प्रहरी र सीआइबीले अनुसन्धान गरेका प्रमाणका कागजातहरू सार्वजनिक गरेका छन्।
'तपाई सम्झिनुस् कि रवि लामिछानेको नाममा हरि लामिछाने भएको भए के हुन्थ्यो ? अहिलेसम्म के भइसकेको हुन्थ्यो रु प्रहरीले सोध्थ्यो कि सोध्दैन थियो ?,' महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएको खुल्ने कागजातहरू देखाउँदै भने, 'प्रहरीले तालुकदार मन्त्रालयको नेतृत्वमाथि प्रश्न गर्दैन, गरेन। त्यहीकारण संसदीय छानबिन समिति गठन गर्न, छानबिन गर्न आवश्यक भएको हो।'