
बारा— बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा उजुरी दिएको छ ।
जनमत पार्टीका कार्यकर्ताहरूले मौन अवधिमा निर्वाचन आचारसंहिता वितरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाडेको पाइएपछि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले उजुरी दिएका हुन् ।
एमालेको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा बाडेको पाइए पछि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहामाथि कारबाहीको माग गर्दै पौडेलले उजुरी दर्ता गराएका हुन् । एमालेले कुशवाहाका कार्यकर्ताहरूले वितरण गरेको नक्कली नमुना मतपत्रसहित उल्लेख गरेर उजुरी गरेका छन् ।
कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाँडेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेलले कारबाहीको माग गरिएको बताए । उनका अनुसार चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरूले हिजो विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाडेका थिए ।
त्यसमाथि, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना मतपत्र बाडेको खुल्न आएको एमालेले जनाएको छ । कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गराएका थिए ।
निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचनलाई प्रभावित पार्न भ्रमको खेती थालेको र यसबाट विचलित नभई सूर्य चिन्हमा मतदान गर्न मतदातसँग एमालेले मतदातासँग आग्रह गरेको उम्मेदवार पौडेलले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्ताबाट भएको आचारसंहिता विपरीतको कार्य बारे परेको उजुरीमाथि छानबिन गरी कारबाही गरिने बताए ।













