News Griha :: न्यूजगृह
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं— मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। 

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल  कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।  

उक्त जग्गा प्रकरणबाट मोहन स्नेही रसाइली र नायब सुब्बा अग्नि बहादुर शाहीले गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, विमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हक हस्तान्तरण गरेका थिए। 

अख्तियारका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:३४
Weather Update