
काठमाडौं— बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकको समय २ पटक सारिसकिएको छ।
बिहान ११ बजे बैठक बस्न नसकेपछि २ बजेसम्मका लागि सारिएकोमा पुनः साढे ४ बजेसम्मका लागि सारिएको हो।
सहकारी ठगी प्रकरणको विषयमा पेचिलो बन्दा संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बनेको कार्यादलको बैठक जारी रहेको छ।
कानुन मन्त्रालयमा जारी बैठकमा सहकारी ठगी प्रकरणको कार्यादेश (टीओआर) मा सहमति हुन नसक्दा बैठकको समय सारिएको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले निरन्तर संसद्मा अवरोध सिर्जना गर्दै आइरहेको थियो। संसद्का कामकारबाहीहरु लामो समयदेखि प्रभावित बनेपछि शनिबार संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका थिए। संसदीय छानबिन समितिको क्षेत्राधिकार कस्तो बनाउने भन्ने विषयमा गठित कार्यदलले निर्णय दिन नसक्दा संसद् बैठक धकेलिएको हो।
त्यस्तै आजका लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि प्रभावित बनेको छ। दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ः१५ सम्मका लागि सारिएको थियो। तर कार्यादेश नभइ संसद् बैठकमा अवरोध गर्ने विपक्षी दलहरुको अडानका कारण बैठक सारिएको हो।