News Griha :: न्यूजगृह
विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत चापागाईंलाई भेट्न माइतीघरमा शिक्षामन्त्री 

काठमाडौं— नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि वालबिकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन्। 

उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ती उभिएर विरोध गरिरहेका छन्।

उनले आगामी बजेटमा शिक्षकहरुको तलब बढाउने कुराको ग्यारेन्टी नभएसम्म शान्त नबस्ने बताएका छन्। 

आइतबार आन्दोलनरत चापागाईंलाई भेट्न शिक्षामन्त्री शिक्षामन्त्री सुमना श्रेष्ठ माइतीघर पुगेकी थिइन्। 

उनले भने, ‘शिक्षकहरुको तलब बजेटमार्फत बढाउने कुराको ग्यारेन्टी नभएसम्म म बस्दिन। तपाईंको आग्रहप्रति मेरो सम्मान छ। अर्को भनेको बच्चाहरुको खाजा १५ रुपैयाँ तोकेको छ। त्यो मान्य हुदैँन। खाजा खर्च ५० रुपैयाँ बनाउनुपर्छ।’ 

त्यस्तै उनले अटिजम भएका बालबालिकाहरुलाई विद्यालय खोल्ने वातावरण पनि बनाउनुपर्ने माग गरेका छन्। 
उनले भने, ‘अटिजमको बालबालिकाहरुको जे समस्या छ र यो सातै प्रदेशमा बजेट मार्फत अटिजम भएको बालबालिकाहरुलाई एउटा स्कुल खोल्ने वातावरण पनि बनाउनुपर्छ।’

सो क्रममा शिक्षामन्त्री श्रेष्ठले नेपालमा काउन्सिलर र अटिजममा थेरापी गर्ने कसैको पनि लाइसन्स नभएको भन्दै अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको व्यवस्था गर्न लागिरहेको बताइन्। 

जति नै भौतिक पूर्वाधार भएपनि त्यहाँ पढाउने शिक्षक नभएपछि त्यसको काम नहुने भन्दै यसमा आफू एकदमै गम्भीर भएर लागिसकेको बताइन्। 

उनले भनिन्, ‘सुधार गर्नुपर्छ भन्ने पक्षमा छु। नेपालमा न काउन्सिलरहरुको लागि लाइसेन्सिङ् छ, न अटिजमका लागि थेरापी गर्नेहरुको लाइसेन्सिङ छ। जबसम्म लाइसेन्सको व्यवस्था आउँदैन, त्यतिबेलासम्म समस्या समाधान हुँदैन। सबैभन्दा पहिला यसलाई समाधान गर्नुपर्यो, सबै विषयमा हामी छलफलमा छौँ। विज्ञहरु राखिसकेका छौ र स्वास्थ्यमन्त्रीसँग पनि म बसिसकेको छु।’

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:४२
Weather Update