News Griha :: न्यूजगृह
ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जना सार्वजनिक, यस्तो छ घटनाको नालीबेली

काठमाडौं— ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेहरुमा २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा तामाङ, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन्। 

शुक्रबार तारकेश्वर नगरपालिका–९स्थित मनमैजुुमा घिमिरेको हत्या भएको थियो। घिमिरेको शव रक्ताम्मे अवस्थामा मनमैजुमा एक निर्माणाधीन घरको भुइँमा शुक्रबार अपरान्ह फेला परेको थियो। 

उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेको आइतबार पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए।  

घिमिरेको हत्यामा संलग्नहरुलाई काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडी र बालाजु २२ धारा पार्कमाथिको जंगलबाट पक्राउ गरिएको थियो। पक्राउ गर्नेक्रममा उनीहरु भागेपछि एक राउण्ड हवाइ फायर गरेर पक्राउ गरिएको एसएसपी रजौरेले बताए। 

उनका अनुसार आफ्नो काम सकेर युवराज खाजा खान एक खाजाघरमा पुगेका थिए। सो क्रममा संलग्नमध्ये सचिन र अन्जली पनि त्यहाँ आइपुगे। युवराज र सचिनको पूराना चिनजान रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। त्यहाँ उनीहरु तीनैजनाले सँगै खाजा खाएका थिए। 

सो क्रमबाट नै उनीहरुबीच सामान्य विरोध त्यहीँबाट सुरु भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ।

युवराजले अन्जलीले आँखा झिम्क्याउने र जिस्काउने गरेको भन्ने बयान उनीहरुले दिएको रजौरेले बताए। 

उनीहरुले अन्जलीलाई बिसन्चो भएको भन्दै घटना घटेको स्थानसम्म मोटरसाइकलमा पुर्याइदिन आग्रह गरेका थिए। युवराजले आफूसहित तीन जना भएर मोटरसाइकलमा घटना घटेको स्थानसम्म पुर्याएका थिए। 

त्यहाँ पुग्दा अन्य व्यक्तिहरु रहेको र उनीहरुले अन्धाधुन्ध रड, इट्टा, ढुंगा र युवराजकै पेटीको प्रहार गरेका थिए। घिमिरेको मृत्यु भइसकेपछि उनको शवलाई उनीहरुले केही पर लगि राखेका थिए। प्रहरीका अनुसार उनीहरुले घिमिरेको ड्रेस र जुत्ता लगायतका सामग्री समेत जलाएका थिए। त्यसपछि जरङ्खुमा गइ सडकपेटीमा उनीहरु बसेका थिए। 

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको थप रहस्य खुल्ने उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १३:२९
Weather Update