
काठमाडौं— बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अहिले जारी रहेको छ।
कानुन मन्त्रालयमा जारी बैठकमा कार्यादेश कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलहरुले कार्यादेशमा सहमति नभएसम्मका लागि बैठक नचलाउन सभामुखलाई आग्रह गरेपछि बैठक सारिएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका हुन्।
शनिबार कानुनमन्त्री पदम गिरीको नेतृत्वमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनेगरी कार्यदल गठन गरिएको हो।
नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक सकिएपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कार्यदलको बैठकमा सहभागि हुन सिंहदरबारस्थित कानुन मन्त्रालयमा पुगेका छन्। त्यसअघि नै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागि भएका हुन्।
कार्यदलले टीओआरमा सहमति नभएसम्म संसद् बैठक अनिश्चित बन्ने देखिएको छ।