News Griha :: न्यूजगृह
संसद् बैठक अझै सुरु भएन, गृहमन्त्रीले सदनमा प्रस्तुत गर्न पाउलान् प्रस्ताव? 
फाइल तस्बिर

काठमाडौं— आज प्रतिनिधि सभा बैठक बस्दैछ। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलदेखि सभामुखसम्म आन्तरिक छलफलमा रहेका कारण अझैसम्म बस्न सकेको छैन। 

यसअघिका बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको थियो। 

निरन्तर संसद्का कामकारबाहीमा प्रतिपक्षीको अवरोधपछि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सत्ता र प्रतिपक्षीहरु सहमत भएपछि आजको बैठक कार्यसूची अनुसार अघि बढ्ने सम्भावना रहेको छ। 

अहिले सहकारीको पैसा अपचलनको विषयमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक जारी रहेको छ। बैठकले छानबिन समितिको कार्यादेश तयार गर्ने विषयमा छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

शनिबार कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको थियो। 

आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक २०८० फिर्ता लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची रहेको छ। 

यसअघि गृहमन्त्री लामिछानेले संसद्मा उक्त विधेयक प्रस्तुत गर्न जान लाग्दा प्रमुख प्रतिपक्षी कांग्रेसले रोक्दै आइरहेको थियो। आजको बैठकमा कार्यदल गठन भइसकेपछि अवरोध नहुने सम्भावना रहेको छ। 

यता विपक्षी दलहरु पनि साझा धारणा बनाउन छलफलमा जुटेका छन्। साथै सभामुख देवराज घिमिरे पनि प्रमुख सचेतकहरुसँगको छलफलमा रहेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:३३
Weather Update