
काठमाडौं— किर्गिजस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन नेपाल सरकारले आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएको थियो।
पाकिस्तानस्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गरी स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।
साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा दूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्रावासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। छात्रावासमा भएको आक्रमणमा १५ विद्यार्थी घाइते छन्।













