
काठमाडौं— सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार बैठक बस्दैछ।
कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए।
‘आइतबार बिहान साढे ८ बजे कानून मन्त्रालयमा बैठक बस्ने जानकारी आएको थियो,’ सांसद खनालले भने, ‘विस्तृत जानकारी त पाएको छैन।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बीचमा शनिबार सहकारीको बचत अपचलन बारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो।
संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन्।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन।
कांग्रेसको अवरोधकै कारण संसद् बर्खे अधिवेशन सुरु भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यद्यपि गत जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गरिसकेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसको माग सम्बोधन भएकाले सदनको गतिरोध आइतबारबाट अन्त्य हुने विश्वास गरिएको छ। आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।