
काठमाडौं— सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
मूलतः समिति बनाउने र कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा काम गर्दै जाने सहमति भएको उनले बताए।
‘मूलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।
लेखकले थपे, ‘सकारात्मक छलफल भएको छ, सकारात्मक रूपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ । ‘समिति बनाएर जानुपर्छ भन्ने भयो, त्यसमा सबैको सहमत भएको छ।’
टीओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने छ।
आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए।