News Griha :: न्यूजगृह
संसद् अवरोध खुलाउ सभामुखले दिए प्रधानमन्त्री र ओलीलाई तीन सुझाव 
फाइल तस्बिर।

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन्।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद् सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन्।

सभामुखले प्रधानमन्त्री र ओलीलाई दिएका तीन सन्देश: 

१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्। म निर्वाध र सौहार्द्रपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्। भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्।

२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन। 

३) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन। अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्व घटेर जान्छ।

सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका सभामुखको सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १८:३८
Weather Update