
म्याग्दी— धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्यु–स्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको ‘भ्यु–स्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो।
मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ। पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ।
यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ। छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ।
गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताए।
यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने ठकुरीले बताए। 'पानी पर्दा, हावाहुरी चल्दा प्रतीक्षालयमा आश्रय लिन सकिन्छ। शवदाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ,' उनले भने।
गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ। धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ।
गाउँबाट एक किमि पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ। मच्छिम गाउँबाट केहीमाथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ। उक्त मन्दिर परिसरबाट हिमशृङ्खला आँखै अगाडि उभिएको देखिन्छ।