
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे।
दाहालले भने, ‘प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ, भोलिसम्म सदनको अवरोध हट्ने छ।’ उनले यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।
उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको भन्दै आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए।
दाहालले भने, ‘सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ। बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ। नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेटले बोक्नैपर्छ।’
कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुन आवश्यक रहेको उनको भनाई छ।
दाहालले भने, ‘समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ। कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ। लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ।’