News Griha :: न्यूजगृह
संसद् अवरोधप्रति सभामुख चिन्तित, अध्यादेशको बाटो खोज्न सकिने चेतावनी
फाइल तस्बिर।

काठमाडौं— सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ बन्धक बनिरहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले जनताका प्रतिनिधिहरूले जनताको विषय उठाउने संसद् आज बन्धक बनिरहेको प्रतिक्रिया दिएका हुन्। 

उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन। अहिले संसद्मा जे गतिविधिहरू भइरहेका छन त्यो राम्रो संकेत होइन। संसद्मा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो। किनभने संसद्मा हुनुपर्ने बहस र छलफलहरू अगाडि बढ्न सकिरहेको छैन। संसद् बन्धक बनिरहेको छ। जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ आज अवरोध छ।’ 

उनले संसद् सधैँ अवरुद्ध रहने हो भने संसद्लाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताए। 

उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरूका लागि नयाँ बाटो खोज्नुपर्ने हुनसक्छ। अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ। यस्तो अवस्थामा संसद् अवरुद्ध भयो भने के परिणाम आउँछ। त्यसैले यो बेला संसद्लाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउँछ। अहिलेको अवस्थामा हामी गयौँ भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि बहसमा आउनसक्छ।’ 

हालकै प्रणाली अन्तरगत संसद् रोकिएर बस्न सक्दैन र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको पनि उनको भनाइ छ। सभामुख घिमिरेले यतिबेला सरकार, व्यवस्थापिका र न्यायपालिकाको राष्ट्र र जनताप्रति भूमिका के हो भन्ने कुरा जनताले बुझ्ने भएकाले यसको समीक्षा हुनुपर्ने औंल्याए। 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १५:०९
Weather Update