काठमाडौं— अफगानस्तानको बामियान प्रान्तमा गोली हानी ४ जनाको हत्या भएको छ।
शुक्रबार भएको घटनामा तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो। आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे।
उनले भने ‘गोलीबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन्।’ चार सन्दिग्धलाई पक्राउ गरिएको अधिकारीले बताए। उनले विदेशी नागरिकको राष्ट्रियता भने खुलाएनन्।
स्पेनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ।
प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार सन्दिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले जानकारी दिए। बेलुका भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन।