
घोराही (दाङ)— कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्। ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन्। मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ। आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन्।
वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ। आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उनी बताउँछन्। हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ।
यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन्। मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउँछन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव छ। उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्यूठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ।
मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ। तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन्। सन्तानले पनि बुबाआमाको सिको गरिरहेका छन्। आफ्नो रुचि र स्वध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन्। उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्ति निमार्णसँगै बिक्री भइरहेका छन्। न्यूनतम तीन हजारदेखि अधिकतम तीन लाखसम्ममा मूर्ति तयार हुन्छन्।