
काठमाडौं— सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन्। शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए।
यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए।
बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो। तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन।
यस्तै बैठकमा नेकपा एकीकृत समाजवादी सत्ता पक्षमै भएपनि बोलाइएको थियो। तर, सो पार्टी पनि अनुपस्थित थियो। यद्यपि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग फोनमा कुराकानी भएको भन्दै महामन्त्री गगन थापाले सहकारी ठगीको विषयमा पार्टीले निर्णय नै गरेकाले यो मुद्दामा पार्टीको साथ रहने आश्वासन पाइएको बताए।
कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ।