News Griha :: न्यूजगृह
शिवशिखर र इमेज सहकारीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २८ अर्ब बिगो माग

काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भक्तपुरको शिवशिखर सहकारी संस्था र बागलुङको इमेज सहकारी संस्थाका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सहकारी ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले शिवशिखर सहकारीका केदारनाथ शर्मा, उनकी श्रीमती गीता शर्मा र तेजबहादुर तामाङ तथा इमेज सहकारीका देवकुमार नेपालीविरुद्ध मुद्दा दायर गरेको हो। शिवशिखरको देशभरी र इमेज सहकारीको गण्डकी प्रदेशभरि शाखा रहेको छ।

विभागले सहकारीको रकम अपचलन गरेको र विभिन्न निजी कम्पनीहरूमा लगानी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।शिवशिखर सहकारीका सञ्चालक शर्माले मात्रै सहकारीको २३ देखि २५ अर्ब रुपैयाँ अपचलन गरेको आरोप पत्रमा उल्लेख छ। जसमा केदार शर्माका नाममा ११ अर्ब १४ करोड बढी, उनकी श्रीमती गीता र कम्पनी गरी ८ अर्ब र थप ५ अर्ब गरी कूल २३/२५ अर्ब रुपैयाँ अपचलन गरेको आरोप पत्रमा उल्लेख छ।

शर्मामाथि सहकारीबाट विना धितो अर्बौं रुपैयाँ ऋणमार्फत अपचलन गरेको, आफ्नो प्रत्यक्ष हित नियन्त्रण रहेको कम्पनी खडा गरेर ५ अर्ब बढीको कृत्रिम ऋण लेखांकन गरेको, विभिन्न कम्पनीहरूमा अर्ब बढीको शेयर लगानी गरेको, सञ्चालक सापटी भनी अर्ब बढी रुपैयाँ लगेको, अग्रिम शेयरबापत करोडौं रुपैयाँ लगेको, तुलसी सहकारीबाट समेत विना धितो ऋण अपचलन गरेको आरोप लगाइएको छ।

शर्माले विराटनगर, दमक र गाईघाटमा रहेको तुलसी सहकारीबाट पनि करोडौं रुपैयाँ अपचलन गरेको पाइएको छ। त्यस्तै गीतालाई विना धितो ऋण अपचलन गरेको, विभिन्न कम्पनीमा करोडौं रुपैयाँको शेयरमा लगानी गरेको, सहकारीको रकम सापटी लगी अपचलन गरेको, आफ्नो नाममा आलिसान घरहरू जोडेको आरोप प्रतिवेदनमा लगाइएको छ।

त्यस्तै तेजबहादुर तामाङको हकमा पनि करोडौं रुपैयाँ विना धितो ऋण लगी अपचलन गरेको, केदार शर्मासँग मिलेर निजी कम्पनीमा लगानी गरेको, अग्रिम शेयरबापत रकम अपचलन गरेको आरोप लगाइएको छ। 

त्यस्तै इमेज सहकारीका सञ्चालक देवकुमार नेपालीले ३ अर्ब ३ करोड बढी रकम ठगी गरेको आरोपपत्रमा उल्लेख छ। उनले पोखरा रख बागलुङमा रहेको सहकारीबाट उक्त रकम घरजग्गामा लगानी गरेको, सवारी साधन खरिद गरेको, निजी कम्पनीमा लगानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ। देवकुमारले सहकारीको रकमबाट १५६ रोपनी जग्गासमेत खरिद गरेको पाइएको आरोपपत्रमा भनिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २१:३५
Weather Update