
काठमाडौं— सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन कुनै पनि विधेयक पारित नगरी शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिएको छ।
गत माघ ५ गते सुरु भएको यो अधिवेशनमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयक मध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिने बाहेक अन्य काम नभएको बताए। यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो। नेकपा एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका थिए।
यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरेका छन्।
प्रदेशसभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि शुक्रबार अपरान्ह बोलाइएको बैठक स्थगित गरिएको थियो। लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो।