News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग शनिबार वार्ता गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको भेटघाटको तालिका सरेको छ। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट तय भएको थियो। 

तर, उक्त भेट शनिबार बिहानमात्रै हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘हाम्रो प्रधानमन्त्रीसँग भोलि मात्रै भेट हुने भएको छ,’ लेखकले भने, ‘त्यसपछि मात्रै केही भन्न सकिएला।’

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टीओआर (कार्यादेश)मा सहमति नजनाउँदा बिहीबारको सहमति भाँडिएको थियो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:५१
Weather Update