
काठमाडौं— कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दै १० सदस्यीय बनाएका छन्।
विस्तारित मन्त्रिमण्डल अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारी, स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की रहेका छन्। त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा गणेश उप्रेती, सिँचाइ तथा उर्जा मन्त्रीमा एकराज कार्की तथा सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई रहेका छन्।
त्यसैगरी मुख्यमन्त्री कार्कीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् भने पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायण बुर्जामगर नियुक्त भएका हुन्।
मुख्यमन्त्री कार्कीले २ राज्यमन्त्री पनि नियुक्त गरेका छन्। जसअनुसार सिर्जना रार्ईलाई मुख्यमन्त्री कार्यालय तथा बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन्।
कार्की गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।