News Griha :: न्यूजगृह
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो 
फाइल तस्बिर

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उत्ताउलो व्यवहार देखाएको टिप्पणी गरेका छन्। 

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बिहीबार आफू भएको ठाउँमा आएर कांग्रेसले अभद्र व्यवहार गरेको बताए।

‘कांग्रेसले उत्ताउलोपन देखाएर म भएको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्न खोज्ने, अपशब्द बोल्ने लगायत काम गर्यो। त्यो सभ्य व्यवहार भएन,’ उनले भने। 

त्यस्तै बिहीबार बसेको संसद् बैठकमा सभामुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिँदा कांग्रेसका सांसदहरुले आक्रोश व्यक्त गरेका थिए। सो क्रममा ओली उठेर त्यसको प्रतिवाद समेत गरेका थिए। जसको कारण कांग्रेस र एमाले सांसदहरुबीच केहीबेर धकेलाधकेलको स्थिती समेत सिर्जना भएको थियो।

तर ओलीले आफू आफ्नै ठाउँमा उभिएको बताए। ‘म आफ्नै ठाउँमा उभिएको थिएँ,’ ओलीले भने। 

त्यस्तै कांग्रेसले किन तपाईमाथी रिस पोख्यो भन्ने पत्रकारको प्रश्नमा ओलीले भने–‘सरकारबाट मैले हराइदिएको भन्ने भएर होला।’  

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक राजनीतिक सहमति नजुटेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर अझैसम्म बैठक बस्न सकेको छैन। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:५६
Weather Update