News Griha :: न्यूजगृह
म्याग्दी क्याम्पसको भवन निर्माण समयमै सम्पन्न

म्याग्दी— बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन ४ कात्तिक २०७९ 

मा उत्तरगङ्गा निर्माण सेवासँग ९५ लाख ८५ हजार चार सय १२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवनमा दुई वटा शौचालय पनि छन् । २५ चैत २०७९ सम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले २२ चैतमा नै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए । 

आयोगको एक करोड र क्याम्पसको ३४ लाख रुपैयाँ साझेदारी गर्नेगरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा सहभागी १२ मध्य सबैभन्दा कम कबोलेको उत्तरगङ्गासँग सम्झौता भएको हो । क्याम्पस भवनको नाप जाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगङ्गाका सञ्चालक कृष्ण बरुवालको गत २१ मङ्सिरमा मृत्यु भएको थियो । बरुवालको मृत्यु भए पनि उनका भाइ नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनालाई पूर्णता दिएका हुन् । 'व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तो सुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ', क्याम्पस प्रमुख जिसीले भने 'योजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजीकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ती हटाउन सकिन्छ ।' 

एमएड, बिआइसिटी र बिबिएको कक्षा सञ्चालन गर्न क्याम्पसले चार करोड ३३ लाख रुपैयाँ लागत अनुमानसहित चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षका लागि आयोगमा थप एक करोड ८७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । 

समुदाय स्तरबाट सञ्चालित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारले तीव्रता पाएको छ । एक हजार दुई सय विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उत्तीर्ण प्रतिशत ३७ दशमलव ०५ प्रतिशत छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:१३
Weather Update