-1715927453.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्नें विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने मागबारे ऐक्यबद्धता जनाएका छन्।
आज नयाँ बानेश्वरस्थित नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउने माग संसद्मा जोडतोडले उठाउने निर्णय गरेको हो।
संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने कांग्रेस सभापति देउवाले विपक्षी दलहरुसँगको छलफलका लागि बैठक बोलाएका थिए।
आजको बैठकले संसद्मा सभामुख देवराज घिमिरेले संसद्मा निष्पक्ष भूमिका देखाउन नसकेको भन्दै सामूहिक रुपमा ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।
बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी रहेका थिए। सीके राउत नेतृत्वको जनमत पार्टी भने बैठकमा सहभागि रहेको थिएन।
बिहान ११ बजेका लागि संसद् बैठक बोलाइए पनि विपक्षी दलहरुले समय माग गरेपछि बैठक ढिलाइ भएको छ। त्यस्तै सभामुख घिमिरेले पनि संसद्मा देखिएको अवरोध अन्त्यका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।