News Griha :: न्यूजगृह
समय मागेर विपक्षी दलहरुसँगको छलफलमा कांग्रेस, संसद् बैठक ढिला हुने 

काठमाडौं— शुक्रबार (आज) का लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि निर्धारित समयमा सुरु नहुने भएको छ। 

आज बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेकाले बैठक केही ढिला हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 

संसद्मा जारी अवरोध हटाउनका लागि अहिले सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफलमा रहेका छन्। 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि अन्य विपक्षी दलहरुसँग छलफलमा रहेका छन्। संसद् सचिवालयसँग समय मागेर कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरिरहेको छ। 

आज बसेको कांग्रेसको संसदीय दलको बैठकले माग पूरा नभएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ।  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको भन्दै कांग्रेसले संसदीय समितिको माग गरिरहेको छ। 

बिहीबारको बैठकमा कांग्रेसको अवरोधकाबीच सभामुखले बैठक अघि बढाएपछि सत्ता र प्रतिपक्षबीच धकेलाधकेलको स्थिती सिर्जना भएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:४४
Weather Update