News Griha :: न्यूजगृह
कांग्रेसले भन्यो– सभामुखको भूमिका समेत निष्पक्ष भएन, विरोध कायमै रहन्छ
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका निष्पक्ष नभएको निष्कर्ष निकालेको छ। 

आज बसेको कांग्रेसको संसदीय दलको बैठकले सभामुख तटस्थताको पद भए पनि सभामुखले आफ्नो गरिमा कायम राख्न नसकेको निष्कर्ष निकालेको हो।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच सभामुख देवराज घिमिरेले सभा सञ्चालन गरेका थिए। जसको कारण कांग्रेस र एमालेबीच धकेलाधकेलको स्थिती समेत सिर्जना भएको थियो।

आज बस्ने संसद् बैठकका लागि रणनीति तय गर्न बसेको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ। सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं।’ 

त्यस्तै लेखकले जनविरोधी काममा नलाग्न समेत सरकारलाई चेतावनी दिएका छन्। 

आजको बैठकले आफ्ना मागहरु पूरा नभएको भन्दै अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ। 

‘हामी हाम्रो मागबाट पछि हट्दैनौँ,’ उनले भने। 

त्यस्तै बिहीबार आफूहरुले संसद्मा हंगामा नगरेको बताए। 

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद्मा अवरोध गरिरहेको छ।  

बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि कांग्रेस सभापति देउवाले विपक्षी दलहरुलाई बैठकमा बोलाएका छन्। 

आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:०५
Weather Update