
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा भइरहेको घटनाक्रमको बारेमा छलफलका लागि विपक्षी दलको बैठक बोलाएको छ।
केहीबेरमा अन्य विपक्षी दलहरुसँग समेत छलफल गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्यूजगृहलाई जानकारी दिए।
‘संसद्मा भइरहेको घटनाक्रमको विषयमा छलफलका लागि हामीले विपक्षी दलहरुसँग पनि छलफल गर्न लागेका छौँ,’ उनले भने।
बिहीबार संसद्मा विकसित घटनाक्रमपछि त्यसका बारेमा छलफलका लागि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। केहीबेरमा संसदीय दलको बैठक बस्ने र त्यसपछि विपक्षी दलहरुसँग छलफल गरिने उनले बताए।
कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र यावद नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी र जनमोर्चासँग छलफल गर्न लागेको हो।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ। बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसको विरोधकाबीच बैठकको कारबाही अघि बढाएपछि संसद्मा प्रमुख प्रतिपक्ष र सत्तापक्षबीच धकेलाधकेलको स्थिती सिर्जना भएको थियो।
आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।