News Griha :: न्यूजगृह
गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकसहित १२ घाइते

काठमाडौं— बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा बसका सहचालक जुम्लाका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो।  प्रहरीका अनुसार स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर छ।

पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटनामा परेको एसपी राजन भुजेलले जानकारी दिए। घाइते मध्ये पाँच जना शुक्रबार बिहान डिस्चार्ज भएका छन्। अरुको उपचार भइरहेको छ।

बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए। घाइते सबैको पाल्पामै उपचार भइरहेको एसपी भुजेलले बताए। 

बस सडकबाट झण्डै ६० मिटर तल खसेको छ। बस दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:१६
Weather Update