News Griha :: न्यूजगृह
सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसले थप रणनीति बनाउँदै, बोलायो संसदीय दलको बैठक

काठमाडौं— प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शुक्रबार बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

तर त्यो मागलाई सत्ता साझेदार दलहरूले मानेका छैनन्। सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसद्को गतिरोध अन्त्य हुन सकेको छैन। बिहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो। त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरूबीच धकेला धकेल भएको थियो।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:४५
Weather Update