
काठमाडौं— नेपाली सेनाका अवकासप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ। फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो।
सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए। उनी प्रधानसेनापति हुँदा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको थियो।
शिक्षाविद् नेत्रबहादुर थापाका छोरा धर्मपालवरसिंहको जन्म १९९६ सालमा काठमाडौंको भुरुङखेलमा भएको थियो। प्रारम्भिक शिक्षा भारतको पटनास्थित सेन्ट जेभियर स्कुलबाट सुरु गरेका उनले पछि नेपालको गोदावरीस्थित सेन्ट जेभियरमा पढे। उनले २०१२ सालमा मेट्रिकुलेसन परीक्षा उत्तीर्ण गरे।
‘त्रिभुवन विश्वविद्यालयमा आईए र बीए पढे। खुला प्रतिस्पर्धाबाट २०१४ असोज २ मा सेनाको सेकेन्ड लेफ्टिनेन्ट दर्जाका लागि छनोट भए,’ जंगी अड्डाले २०६९ मा प्रकाशित गरेको ‘नेपाली सेनाको इतिहास’ पुस्तकमा उल्लेख छ, ‘थापाले बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट अफिसर बेसिक ट्रेनिङ कोर्स पूरा गरेपछि २०१६ साउन ९ मा सेकेन्ड लेफ्टिनेन्ट दर्जा प्राप्त गरे।’
थापाले फर्स्ट राइफल बटालियनमा सुरुको नियुक्ति पाएका थिए। उनी २०४३ सालमा सहायक रथी, २०४७ मा उपरथी र २०५१ मा रथीमा पदोन्नति भएका थिए। उनले अमेरिकाको पेन्सिलभेनियास्थित वार कलेजबाट वार कलेज कोर्स गरेका थिए। नेपालका प्रधानसेनापतिहरूमा वार कलेज कोर्स गरेर उक्त पदमा पुग्ने उनी पहिलो हुन्।
उनकै पालामा सेनाको संख्या ५० हजार पुर्याउने कार्य अगाडि बढाइएको थियो। सेनाका अधिकृत र जवानहरूका लागि परिवार आवाससमेत बनाइएको थियो। नेपालका प्रधानसेनापतिहरूमध्ये चीनको भ्रमण गर्ने, भारतको इन्डियन मिलिटरी एकेडेमीको पासिङ आउट परेडमा सलामी र विदेशी प्रधानसेनापतिको सम्मान पाउने उनी पहिलो हुन्।













