News Griha :: न्यूजगृह
तस्करीको सुन लुकाएर सूर्यबहादुरले जब अपहरणमा परेको नाटक गरे...
पक्राउ परेकाको साथबाट बरामद भएको सुन र आइफोन।

काठमाडौं— वैदेशिक रोजगारीबाट फर्किँदा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन्।

बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एक जना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो। सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका उनलाई प्रहरीले प्राथमिक उपचारका लागि गोदावरी–६ को नमस्ते मेट्रो अस्पताल पुर्‍याएको थियो।

उनी बोल्नसक्ने अवस्थामा थिए। उनको कुरा गराइमा प्रहरीलाई शंका लाग्यो। अनुसन्धान गर्दै जाँदा अपहरणको नाटक गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत मंगलबार बिहान कतारबाट फर्किएका मगरले साथमा औंठी र ब्रास्लेट गरि ७० ग्राम सुन ल्याएका थिए। जो उनले अरु कसैको भरिया भएर काठमाडौं उत्रिएपछि दिनुपर्ने थियो। राजस्व छली गरी ल्याएको सुनसँगै उनको साथमा एउटा लेनोभोको ल्यापटप सामसङ कम्पनीको एक मोबाइल सेट र एउटा आइफोन थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण लगत्तै उनी सोही दिन १ बजेको सौर्य एअरलाइन्सको विमानमा झापाको भद्रपुर पुगे। सुन, ल्यापटप र मोबाइल सेट बिर्तामोड–५ स्थित घरमा लगेर लुकाए। साँझ साढे ६ बजेको बुद्ध एअरको विमानमा काठमाडौं फर्किए।

आफूले आफैंलाई चोटपटक लगाइ गोदावरी–६ को नालामा गइ पल्टिएको अनुसन्धानबाट खुलेको प्रहरीले बिहीबार जनाएको हो। शंका लागेपछि प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा उनको घर कोठाको खानतलासी गराएको थियो। मगरले कतारबाट भन्सार छली ल्याएको सुन बरामद भएपछि घटनाको वास्तविकता खुलेको हो। उनलाई आवश्यक कार्यबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २०:१५
Weather Update