News Griha :: न्यूजगृह
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।

नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए। उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे।

त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिए। कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भयो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद धनराज गुरुङ भनाभनमा उत्रिए।

सांसदहरूबीच धकेलाधकेल र भनाभना भएपछि सभामुख घिमिरेले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:२७
Weather Update