
काठमाडौं— डा. गोविन्द केसीले अनशन तोडेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चार बुँदे माग राख्दै वैशाख २९ गतेदेखि आमरण अनशन सुरु गरेका थिए।
पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औं अनशन तोडेका हुन्। उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै अनशन तोडेको बताएका छन्।
केसीले राखेका चार बुँदे माग
१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गरियोस्।
२. सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि, उपचारको व्यवस्था गरियोस्।
३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी (गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न।
४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ ।













