News Griha :: न्यूजगृह
आज गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन । 

विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत १० चैतमा मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएका थिए । संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । 

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन् ।

गत २५ पुसमा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०६:५९
Weather Update